यौन दुराचारको आरोप लागेका रामबहादुर बम्जनले पाए सफाई
काठमाडौं - आफूलाई बौद्ध धर्मगुरु बताउने रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ ।
उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको हो । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बम्जनले आज सफाई पाएका हुन् ।
सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई उच्च अदालतले २०८१ चैत ६ गते सफाइ दिएको हो । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बम्जनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उप–रजिष्ट्रार सुशील यादवले बताए ।
बम्जनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
उच्च अदालतले फैसला गरेको बखत बम्जन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए । उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो ।
‘फैसला भएको राति चैत ६ गते हामीलाई पत्र आएको थियो,’ सिन्धुपाल्चोक कारागारका एक कर्मचारीले भने, ‘७ गते यहाँ कारागारबाट जानु भएको हो ।’
कारागारबाट मुक्त हुँदा बमजनलाई उनकी श्रीमती दीपशिखाले बुझेकी थिइन् । ती कर्मचारीका अनुसार रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो ।
बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो । सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए । सिन्धुपाल्चोकको बाडेगाउँबाटै बेपत्ता पारिएका अर्का अनुयायी सञ्चलाल वाइबाको मुद्दा सरकारी वकिल कार्यालयले अघि बढाएको थिएन ।
यसअघि २०८१ साउन ८ गते बम्जनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी चिनिमाया तामाङ बेपत्ता पारिएको कसुरमा नुवाकोट जिल्ला अदालतले बमजनलाई साधारण तारिखमा रिहा गरिसकेको थियो ।
बमजनविरूद्ध एउटा निवेदन बारामा छ । जितपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वाका सुरेशकुमार आले बेपत्ता प्रकरणमा बारा प्रहरीमा आफन्तले २०८० मंसिरमा निवेदन दिएका थिए । त्यो निवेदन अझैसम्म दर्ता भएको छैन ।
बमजनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बमजनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन ।
कारागारबाट छुटेपछि बमजन कहाँ गए प्रहरीले खोजी गरेको छैन । बमजनको घर काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौंडा हो ।
बमजनको स्थायी ठेगाना बाराको निजगढ नगरपालिका–१२ हो । ३० वर्षीय उनको वास्तविक नाम रामलाल बम्जन हो । बम्जनलाई २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस