काठमाडौं - दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी पोस्टका लागि सरकारले आधुनिक भवन बनाउने भएको छ । त्यसका लागि सरकारले ११ करोड बजेट विनियोजन गरेको छ ।

बिहिबार सरकारले सो भवन निर्माणको लागि बोलपत्र आह्वान गरेको हो।गृह मन्त्रालयका अनुसार छाङरुस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा १ सय ६० सशस्त्र प्रहरी रहने गरी भवन निर्माण गर्न लागिएको हो ।

सरकारले कालापानीनजिकै कौवामा र अर्को चीनसँगको सीमाना तिङ्करमा बीओपी राख्ने तयारी गरिरहेको छ ।

अहिले छाङरुमा घर भाडामा लिएर सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली बसीरहेको छ । जुन ठाउँ भारतले सडक निर्माण गरेको सडकभन्दा करिब १३ किलोमिटर तल रहेको छ । छाङरुमा सशस्त्र प्रहरीको टोली वैशाख २१ गते पुगेको थियो ।