आज क्वाँटी खाने दिन, यस्ता छन् क्वाँटीका फाइदा
काठमाडौँ - बिहीबार जनैपूर्णिमा, रक्षाबन्धन । यस दिन क्वाँटी पनि खाइन्छ । जनैपूर्णिमाको दिन ११ थरिका गेडागुडी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपानीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।
के छन् त क्वाँटीका फाइदा ?
क्वाँटी चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका टुसा उमारेर बनाइन्छ । यसले थकित शरीरमा ऊर्जा संचार गर्छ भने चिसो पनि भगाउँछ ।
स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ ।
रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचनशक्तिमा सुधार ल्याउँछ ।
यसले मधुमेह नियन्त्रण राख्न सघाउ पुर्याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । कोलस्टेरोल नियन्त्रण गर्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ । रक्त संचार तथा स्नायुप्रणालीलाई फाइदा पुग्छ ।
बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पुर्याउने भएकाले क्वाँटीको महत्व बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि निकै महत्वपूर्ण रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस