काठमाडौं - प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। गत असार २४ गतेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो। 

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट सोमबार श्रेष्ठले नियुक्ति पत्र लिनुका साथै पद तथा गोपनीयताको शपथ लिए। मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारी पाएकोमा बधाइ दिए। नियामक निकायहरूले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताए। वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। 

पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको बताए। उनले क्षमता अभाव भएका संस्थाले प्रभावकारी काम गर्न नसक्ने भन्दै प्रेस काउन्सिललाई पनि थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे।