काठमाडौं, एजेन्सी - लामो समयदेखि निर्वाचनको परिणाम स्वीकार नगरेर चर्चामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्ने संकेत गरेका छन् ।

चुनावमा धाँधली भएको भन्दै गरिएको हार-गुहारले काम नगरेपछि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका हुन् ।

यसका लागि ट्रम्पले जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ‘गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको जानकारी दिएका छन् ।

यद्यपि, उनी अझै चुनावी परिणामविरुद्ध आफ्नो कानुनी लडाईं जारी रहने पक्षमा देखिएका छन् । उता, जिएसएले पनि बाइडनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ।

ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार हुनुका पछाडि मिशिगनको निर्वाचन परिणामसँग पनि जोडिएको छ । त्यहाँ बाइडेनको जित औपचारिक घोषणा गरिएको छ ।

योसँगै जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन् ।

सरकारी नियकाहरुले सत्ता हस्तान्तरणको औपचारिक काम सुरु गरेका छन् । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने जानकारी दिएकी छिन् ।