काठमाडौं - नेकपा एमालेले मानव अधिकार आयोगलाई तटस्थता र निष्पक्षतातिर ध्यान दिन सुझाव दिएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो।
आयोगले 'एमाले कार्यकर्तालाई जेठ १५ गते काठमाडौं कब्जा गर्नुपर्ने' ओलीको अभिव्यक्ति पदीय मर्यादा विपरीत रहेको बताएको थियो। त्यही विषयमा एमाले महासचिव शंखर पोखरेलले आयोगलाई तटस्थता र निष्पक्षतातिर ध्यान दिन आग्रह गरे।
'मानव अधिकार आयोगले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र संविधानसम्मत बनाउनुपर्छ। त्यतातिर उसको ध्यान पुगेको होला भन्ने मैले ठानेको छु,' महासचिव पोखरेलले भने। उनले प्रधानमन्त्री ओली पार्टीको अध्यक्ष पनि भएकाले पार्टीको कार्यक्रममा पार्टीको नीतिअनुरुप बोल्ने गरेको स्पष्ट पारेका थिए। 'सरकार र पार्टीका नीति फरक फरक कुरा हुन्। पार्टीका कार्यक्रममा पार्टीको र सरकारको कार्यक्रममा सरकारको नीतिअनुरुप उहाँ (प्रधानमन्त्री ओली) प्रस्तुत हुनुहुन्छ,' उनले भने।

.gif)



