काठमाडौं - अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न सरकारकाले आग्रह गरेको छ ।

बिहिबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए ।

‘उहाँका धेरै माग पूरा भइसकेका छन्। हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं। ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ,’ मन्त्री ज्ञवालीले भने,‘सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको छ। सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ। यसमा थप दबाव दिनु जरूरी छैन।’

मन्त्री ज्ञवालीले डा. केसीले राखेका धेरै माग पूरा भइसकेको पनि जिकिर गरे । सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने माग पूरा हुने क्रममा रहेको र पीसीआर टेस्टको दायरा बढिसकेको उनले बताए ।

अहिले यस विषयमा सरकारलाई थप दबाब दिन जरुरी नरहेको पनि मन्त्री ज्ञवालीको दावी छ । ‘अन्य विषयमा साधन स्रोतले भ्याएरसम्म सरकारले हरसम्भव प्रययत्नहरु गरिरहेको छ’ उनले भने ।