चार पूर्वप्रधानन्यायाधीशप्रति प्रधानमन्त्री आक्रोशित
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले चार पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश पोखेका छन् । राजधानीको प्रज्ञा भवनमा भएको युवा भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका हुन् ।
शुक्रबार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएको धारणा सार्वजनिक गरेपछि प्रधानमन्त्री शनिबार आफू निकटका युवाहरुको भेलामा आक्रोशित भएका हुन् । ‘न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ? एकजना वकिलले वर्तमान र भविष्य सम्झेर फैसला गर्नू भनेर धम्क्याएछन् । के भनेको त्यो ? न्यायाधीशलाई धम्क्याउने ?’ उनले भने ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न नसुहाउने ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक कदम भएको ठहर गर्दै पूर्वप्रधानन्यायाधीशहरुले संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा त्यो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको विज्ञप्ति जारी गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् । ओलीले आफ्नो कदम संविधान विपरित नभएको भन्दै मरेको संसद् नबिउँतिने बताउँदै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस