काठमाडौं-पेस्तोल पड्काउँदै नाच्ने जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछका लागि भन्दै कार्यालयमा उपस्थित हुन भनेको छ ।

उनले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनलाई प्रहरी कार्यालयमा बोलाएको र उनी नआए पक्राउ गरिने प्रहरीले जनाएको छ ।

बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ ।

पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

पूर्वमन्त्रीसमेत रहेका मृगेन्द्र सिंह यादवकी छोरी बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् ।

उनको सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस विषयमा समाचार समेत बनेपछि नेतृ डा. बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पेस्तोलबारे अनुसन्धान गर्न नेतृ डा. बबीलाई बोलाएको बताए । उनले भने–‘पेस्तोल नक्कली नै रहेको कुरा भन्न सकिँदैन । उहाँ (डा. बबी)लाई बोलाएको छु । एक घण्टामा आउँदै हुनुहुन्छ ।’

उनले नक्कली पेस्तोल र डान्स गर्दै पेस्तोल पड्काएको भिडिओ आवश्यक अनुसन्धानका लागि प्रधान कार्यालय पठाउने जानकारी दिए ।