काठमाडौं - साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालयले । हामीलाई दिएको समयमा नेता नेपाल एमालेकै अर्का एक जना वरिष्ठ नेतासँग कुरा गर्दै थिए । ‘ओली साह्रै बद्मास रहेछन्, तिनको कहिल्यै भर नगर्नू ?’ हिँड्ने बेलामा ती नेताले हामीले सुन्ने गरी नेपाललाई सुझाव दिएर गए ।

केही समयपछि हामी वरिष्ठ नेता नेपालको कुरा सुन्न थाल्यौं । पछिल्ला राजनीतिक घटनाक्रमबारे थोरै बेलिविस्तार लाउँदै थिए उनी, अर्का नेताको फोन आयो । मोबाइलको कभर पल्टाउँदै नम्बर हेरे र भनें ‘एकछिन है ।’ हाम्रै अगाडि वरिष्ठ नेता नेपालले उनीसँग कुरा गरे, कुराकानीको सन्दर्भ पार्टी एकताकै बारेमा थियो ।

‘मिलाउनुस् न त तपाईहरू । केपी ओलीसँग कुरा गरेर मात्रै मलाई फोन गर्नू,’ फोन राखिसकेपछि मुसुक्क हाँस्दै वरिष्ठ नेता नेपालले फोन गर्ने मान्छेका बारेमा जानकारी दिए । उनी ओली समूहका खाँटी मान्छे थिए ।

कुराकानीकै क्रममा उनले युट्युबमा क्लिक गर्दै हामीलाई गीत सुनाए । ‘म तपाईंहरूलाई दुई लाइन मात्रै सुनाउँछु, मन प-यो भने पछि सुन्नुहोला,’ उनले हामीसँग भने । गीत थियो अमिताभ बच्चनको स्वरमा रेकर्ड भएको रवीन्द्रनाथ टेगोरको ‘ज्योदी तोर डाक सुने क्यु, ना आसे । अगला चलो, एक्ला चलो ।’ 

 राजधानी दैनिकबाट