नेपाल र भारत एकअर्काको आवश्यकता हुन्, वार्ताद्वारा समस्या समाधान गरौँ : श्रृंगला
काठमाडौं - भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले दुई देशबीचको समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।
शुक्रबार बिहान द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयेर्सले आयोजना कार्यक्रममा बोल्दै श्रृंगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता हुने भएकाले समस्या वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका हुन् ।
'नेपाल र भारतको सम्बन्ध आत्मीय परम्परा, सिभिलाइजेसन र इतिहासले दुई देशका जनताबीच शक्तिशाली सम्बन्ध कायम गरेको छ । दुईवर्ष अगाडि मोदीको भ्रमणले पनि यो स्पष्ट पारिसकेको छ ।' श्रृंगलाले भने, 'हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं। हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौ ।'
उनले पछिल्ला केही वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आएको बताउँदै बलियोरुपमा सँगै अघि बढ्नुपर्ने बताए ।
नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात् गर्दै दुई पक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने उनको धारणा छ ।
उनले काठमाडौंमा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्नुका साथै आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस