काठमाडौं, बझाङ - जिल्लाको केदारस्यँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको उच्च जोखिममा परेको छ ।

अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिरोले बगाएकाले भवन पनि जोखिममा परेको हो । साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्राङ्गण पहिराले लगेको प्रधानाध्यापक मानबहादुर धामीले बताए ।

उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ, भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ जना विद्यार्थी अध्ययनरत छन् ।

वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको प्राङ्गण पनि पहिरोले बगाएको बताए ।

उनले भने, ‘अहिले त विद्यालय बन्द छ खुला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ, विद्यालय भवन अन्त बनाउनका लागि जग्गाको खोजी गरिरहेका छौँ, भेट्टाएका छैनौँ, कतै पाइएमा चाँडै भवन अन्तै सार्ने योजनामा छौँ ।’