काठमाडौं - प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद भएको बताएकी छन् ।

कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको उनले बताईन् ।

काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले लोकतान्त्रिक व्यवस्थाले कानुन परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताइन् ।

नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ छ । समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको उनले बताईन् ।

उनले भनिन्, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म र? यो धेरै परिस्कृत भयो भनेको छ कानुनले त यहाँहरुलाई अझै विभेद गरेको रहेछ । कानुनले विभेद गर्नु लज्जास्पद भयो ।’