काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पक्षमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई ल्याउन नसक्दा दुखी भएको बताएका छन् ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । तर, आफ्नो समूहमा उपाध्यक्ष बामदेव गौतमलाई ल्याउनेमा आफू सकारात्मक रहेको उनले बताएका छन् ।

कुनै समूहको बैठकमा नगएका बादल आज बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । उनलाई ओली समूहको उपाध्यक्ष बनाउने सम्भावना रहेको बताइएको छ ।

प्रचण्डले आफूहरुमाथि ठुलो धोका र बेइमानी भएको जिकिर गर्दै सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने पनि बताएका छन् । ‘आगामी १४ गते पेसी राखिनुमा षड्यन्त्रको गन्ध ह्वासै आएको छ । कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस् ।’ प्रचण्डले भने ।

उनले प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्था २०१७ सालको जस्तो भएको बताएका छन् । उनले भने, ‘सात दशक लामो संघर्षको उपलब्धि अपहरण गर्ने र त्यसको रक्षा गर्ने बीचको लडाइँ हो यो ।’ २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेका थिए। त्यसका विरुद्ध अहिले सामान्य आन्दोलन घोषणा गरिएको प्रस्ट पार्दै उनले पूरै तागतका साथ, इतिहासका तमाम गौरवका साथ संघर्षको मैदानमा उत्रिएर प्रतिगामी, प्रतिक्रान्तिका डिजाइनका विरुद्ध प्रतिवाद गर्न तयारी अवस्थामा रहनसमेत निर्देशन दिएका छन् ।

आफूलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा एकैछिन पनि समय नदिएकाे उनले बताएका छन् । ‘ठूलो जालझेल भयो। ५ मिनेट ओलीले मलाई कुरेनन। पार्टी बचाउन आउँदै छु भनेर बालुवाटार पुग्दा प्रतिनिधिसभा विघटनको निर्णय गरिसक्नु भएछ।’ उनले भने ।

आजको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलनका लागि २ हजार ५ सय १ जनाको परिचालन कमिटीसमेत गठन गर्ने निर्णय भएको छ ।