काठमाडौं - निर्वाचन आयोगले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान सशर्त अनुमति दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो । सरकारी स्रोत-साधन प्रयोग नगर्ने शर्तमा उनलाई प्रचारप्रसारको अनुमति दिइएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । 

आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न र नगराउन निर्देशन दिँदै अनुमति दिएको छ । अब प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउने भएका छन् ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छन् । यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।