२ हजार बढी भिजिट भिसा पीडित नेपाली सम्पर्कमा आएका छन् : रास्वपा
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ ।
सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिन लगाएको समाचार बाहिरिएपछि रास्वपाले जेठ १४ गते ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही भए प्रमाणसहित सम्पर्कमा आउनु’ भन्दै आव्हान गरेको थियो ।
सोही आव्हानपछि २ हजारभन्दा धेरै पीडित सम्पर्कमा आएको रास्वपाकाकार्यवाहक प्रवक्ता मनिष झाले प्रष्टीकरण दिदै भने, ‘रास्वपाले यसलाई विषयान्तर गर्न र संसद्को रोष्ट्रमबाट गृहमन्त्री लेखकले पीडितलाई दिएको धम्कीको नियोजित ऋंखला मानेको छ । ‘सासंद श्रेष्ठले निर्देशन दिएको’ भनेर आएको समाचार गलत छ ।’
भिजट भिसा प्रकरणको विषय कुनै दल र नेताप्रति लक्षित नभएको बताए । विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भन्दै उनले कोही एक व्यक्तिको पछि लाग्ने राजनीतिक आचरण र अभ्यास नभएको र राजनीतिक प्राथमिकता पनि नपर्ने बताए ।
भिजिट भिसा प्रकरणमा दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको जानकारी गराउँदै उनले भने, ‘हामीले उहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोग लगायतमा उजुरी दिन सुझाएका हौँ । र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’
‘रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको’ भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको झाको भनाइ छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस