काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्। उनी आफ्नो निवास बालकोटतर्फ प्रस्थान गरेका छन् । 

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो। उनको गाडीलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्।  स्कर्टिङमा रहेका कार्यकर्ताहरुले 'अघि बढ केपी बा, साथ दिन तयार छु', ' केपी बा हाइ हाइ', 'आइ लभ यु केपी बा', 'आजलाई हैन भोलिलाई,  हाम्रो साथ ओलीलाई', 'चुनाव चिन्ह हाम्रो हो हाम्रो हो' लगायत नारा लगाएका थिए । 

हजारौंको गाडी तथा मोटरसाइकलको साथमा ओलीलाई बालकोट पुर्‍याउने योजना अनुसार बालुवाटारमा बिहानैदेखि भिडभाड बढेको थियो। अब प्रधानमन्त्री देउवा केही दिनमा बालुवाटार सर्ने बताइएको छ।