यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागको एक– दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस