पीपीएल : ११९ रनले हार्यो बुटवल, चितवनको लगातार दोस्रो जित
काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो शानदार जित हात पारेको छ ।
बिहिबार पोखरा रंगशालामा भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न चितवन सफल भएको हो ।चितवनले दिएको २ सय ४ रनको विशाल लक्ष्य पछयाएको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमै समेटियो ।
खराव सुरुवात गरेको बुटवलले १० रन बनाउँदा तीन विकेट गुमाएको थियो । शिबम सिंहले सर्वाधिक ३३ रन बनाए । यस्तै, भिम सार्कीले २१, हरि चौहानले १२ रन बनाउनु बाहेक अरुले दोहोरो रन जोड्न सकेनन् । बुटवललाई सस्तैमा समेट्न करण केसीले ४ विकेट लिए भने रोहन मुस्तफाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन बनाउन सफल चितवनलागि कप्तान पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।पारसले ६३ रनको अर्धशतकीय इनिङ्स खेले भने रोहनले अविजित ७० रन बनाए ।
यस्तै आरिफ शेखले ४० रन जोडे । बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।
फेसबुक पेज Like गर्नुहोस