काठमाडौं - श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदको नाम टुङ्ग्याएको छ। 

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट श्रम संस्कृतिले समानुपातिकतर्फ ४ जना सांसद पाएको छ। 

पार्टीले खस आर्य महिलाबाट सुनसरीका अम्बिका सङ्ग्रौला, आदिवासी जनजातिबाट संखुवासभाका पूर्ण लिम्बु, आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान र दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

आकांक्षी धेरै तर मत कम आएपछि पार्टीमा चर्को विवादसमेत भएको थियो। तर विवादबीच अहिले समानुपातिक सांसदहरूको टुङ्गो लागेको श्रम संस्कृतिका महासचिव समेत रहेका खोटाङबाट प्रत्यक्ष निर्वाचित सांसद आरेन राईले जानकारी दिए। 

पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिकतर्फका सांसदबारे पार्टीभित्र किचलो सुरू भए शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टी पङ्क्तिलाई पार्टीभित्र रोइलो  गर्ने जति सबैलाई पार्टी सदस्यबाटै निकाल्ने चेतावनी समेत दिएका थिए।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा श्रम संस्कृति पार्टी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ ।

प्रत्यक्षमा ३ सीट जितेको पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ । जसअनुसार श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ ।