महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौं- म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
पुनले बिहीबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा निर्वाचनका क्रममा भएको खर्च विवरण बुझाएका हुन् । उनले आयोगमा बुझाएको विवरणअनुसार कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
काठमाडौं विवरणअनुसार उनले मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च गरेका छन्। त्यसैगरी प्रचारप्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५ रुपैयाँ खर्च भएको देखाइएको छ।
यस्तै यातायात तथा सवारी मर्मत खर्चमा ६ लाख ६० हजार ९९८ रुपैयाँ, चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ, होटल बास र खानामा १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
त्यसैगरी डिजेल खर्च ३ लाख ६० हजार ४९९ रुपैयाँ, स्टेशनरीमा २५ हजार ३०० रुपैयाँ तथा विविध शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको पुनले आयोगलाई बुझाएको कागजातमा उल्लेख गरिएको छ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पुन १४ हजार ९३१ मतान्तरले विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी हरिकृष्ण श्रेष्ठ ले ७ हजार ९१२ मत ल्याएका थिए।
निर्वाचन आयोगको प्रावधानअनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस