एजेन्सी - भारत र संयुक्त राज्य अमेरिकाबीच एक ऐतिहासिक व्यापार सम्झौता भएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेड इन इन्डिया’ उत्पादनहरूमा लगाउदै आएको २५ प्रतिशत ‘रेसिप्रोकल ट्यारिफ’ शुल्क घटाएर १८ प्रतिशत कायम गर्ने घोषणा गरेका हुन्।  

यो निर्णय अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको टेलिफोन संवादपछि सार्वजनिक गरिएको हो।

भारतले पनि बदलास्वरूप अमेरिकी सामानमा लाग्ने कर तथा गैरभन्सार अवरोधहरू क्रमशः हटाउने तयारी थालेको छ।

सम्झौताको महत्त्वपूर्ण पाटोका रूपमा भारतले आगामी वर्षहरूमा अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि सामग्री र कोइलालगायतका क्षेत्रमा पाँच सय अर्ब अमेरिकी डलरभन्दा बढीको आयात गर्ने प्रतिबद्धता जनाएको छ। यसले अमेरिकी उद्योगलाई ठुलो राहत दिने अपेक्षा गरिएको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार यो सहकार्यले ‘मेक इन इन्डिया’ अभियानलाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बनाउनेछ र दुवै मुलुकमा रोजगारी विस्तारमा टेवा पुर्‍याउनेछ।