‘चुनावका लागि तयार छौँ, आयोगले प्रक्रिया अगाडि बढाउनुपर्छ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरूले आफूहरू चुनावका लागि तयार रहेको बताएका छन्।
निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । र, त्यसका लागि आफूहरु तयार रहेको उनको भनाई छ ।
‘आयोगले सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।’ आयोग पदाधिकारीसँग छलफलपछि नेम्वाङले भने, ‘त्यसका लागि हामी प्राथमिकता दिएर लागेका छौँ ।’
ओली पक्षबाट महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल तथा कानुनविदहरु बाबुराम दाहाल र रमेश बडाल आयोग पुगेका थिए ।
निर्वाचन आयोगले दल दर्ताको तयारीका बारे छलफल गर्न नेकपाका दुबै पक्षलाई आज बोलाएको थियो।
प्रचण्ड-नेपाल पक्षीय नेताहरूले दुबै अध्यक्षहरू उपत्यकाबाहिर भएकाले छलफलमा सहभागी हुन नसक्ने भन्दै पत्र बुझाएर फर्किएका छन्।
फेसबुक पेज Like गर्नुहोस