काठमाडौं-दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। तीन  जनाको उद्दार गरिएको छ।

गएराति दुई वटा घर पुर्दा एक घरका तीन जना र अर्को घरका एक जना गरी ४ जना बेपत्ता भएका हुन्। तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकप्टर मगाइएको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक बासुदेव थापाले जानकारी दिए। 

बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको उनको भनाइ छ। बेपत्ता भएकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।

यस्तै गएरातिको वर्षाले सोही वडाको सल्ले गाउँका २ घर बगाएको छ। १५ घर विस्थापित भएको वडा अध्यक्ष वडाअध्यक्ष दावा शेर्पाले बताए। दुर्गम भएकाले पहिरोबाट भएको क्षतिको विवरण आउन बाँकी छ।