कञ्चनपुर-बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो। 

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसँग मेलापातका लागि नेशनल पार्क गएकी थिइन्। मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।

उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए।

अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ। भारतीय प्रहरीले मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाउने बताईएको छ।