गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने तयारी
काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको नाम प्रस्ताव गरिएको छ ।
हिजो सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेको बुझिएको हो ।
गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्यसमेत रहेका पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको भनिए पनि यसबारे औपचारिक घोषणा भइसकेको छैन ।
कामु गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले विकल्प खोजेको हो ।
गएको चैत २४ गते गभर्नरबाट महाप्रसाद अधिकारी सेवानिवृत्त भएको ९ दिनपछि वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउने सहमति भएको थियो ।
त्यसपछि वैशाख ५ गते भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कायम मुकायम गभर्नर नीलम ढुङ्गानाले राजीनामा स्वीकृत गरेकी थिइनन् ।
अब गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस