काठमाडौं -  यो साता देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो साता उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ।  

यस साता हिमाली भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

पहाडी भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरु र मध्यमा कोशी प्रदेशमा तथा साताको सुरुमा बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।  

तराई भू-भाग अन्तर्गत कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा थोरै स्थान, मध्यमा एक-दुई स्थानका साथै साताभर लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशका हिमाली भू-भागमा अधिकतम र न्यूनतम् तापक्रम उल्लेख्य परिवर्तन नहुने तथा बाँकी भू-भागमा हल्का बढ्ने सम्भावना रहेको छ। साताको सुरुमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशमा तातो दिन हुने सम्भावना रहेको छ। साताको मध्यबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा मध्यम तातो लहर हुने सम्भावना रहेको छ। विभागका अनुसार सरदरसँग तुलना गर्दा देशभर अधिकतम र न्यूनतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको छ।