नेतृत्वले हस्तक्षेप गरेको टिप्पणीकाे प्रचण्ड सचिवालयद्वारा खण्डन
काठमाडौं - स्थानीय तह तथा प्रदेश सम्मेलनमा पार्टी नेतृत्वले हस्तक्षेप गरेको भन्ने टिप्पणीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ । निर्धारित नीति, विधि र प्रकृयाबाट आउनेलाई पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगरिएको र नगरिने सचिवालयले स्पष्ट पारेको छ। शनिबार प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत् आन्तरिक प्रतिस्पर्धामा नेतृत्वले हस्तक्षेप गरिएको भन्ने विषयको खण्डन गर्दै प्रदेश सम्मेलनको बाँकी काम पूरा गरी पुस पाँचभित्र प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । वडा र पालिकामा सम्मेलन सम्पन्न गरेको माओवादीले प्रदेशमा अहिलेसम्म नेतृत्व छनोट गर्न सकेको छैन । नेतृत्व चयनमा पार्टी नेतृत्वले हस्तक्षेप गरेको भन्दै पार्टी भित्र र बाहिर विभिन्न टिकाटिप्पणी भइरहेको छ।
यस्तो छ प्रचण्डको सचिवालयले जारी गरिएको खण्डन:
हाम्रो पार्टीले सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुदै प्रदेश सम्मेलन सम्पन्न गरि राष्ट्रिय सम्मेलनको नजिक पुगेको छ। हाम्रो पार्टीले विचार सिद्धान्त र नीतिमा होइन नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथि उठाई उल्लेखित विषयमा छलफल, बहसमार्फत सहि विचार र राजनीतिक दिशाअनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुसरण गर्दै आएको छ।
यद्यपि यसलाई समयानुकूल परिस्कृत गर्ने चुनौती पनि हामीले सामना गर्दै आएका छौं। हामीले सम्मेलनमा अबलम्बन गरिरहेको बिधिको बारेमा केही टिप्पणीहरु सार्वजनिक भएका छन। हामीले अहिले सबै सम्मेलनहरुबाट अधिकतम सहमतिको माध्यमबाट नेतृत्वको टिम निर्माण गर्ने र त्यसरी चयन भएको टिमले आफ्नो पदाधिकारी सकेसम्म सहमतीय निर्वाचन विधिमा र सहमतीय विधिबाट नभए बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला गरेको छ।
हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नवुझेर कतिपय पक्षबाट नेतृत्वले हस्तक्षेप गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन। यो एकदम गलत कुरा हो। पार्टी बाहिर र भित्रका कमरेडहरु समेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरु नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र छ्न। ऊनीहरुले निर्धारित नीति बिधिभित्र रहि आफ्नो अधिकारको प्रयोग गरुन्।
र, छिटोभन्दा छिटो प्रदेश सम्मेलनको बाकी काम पूरा गरि यही ५ गतेभित्र आवस्यक विवरण सहितको प्रतिनिधि सुची केन्द्रीय कार्यालयमा पेश गरुन्। यसमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने ब्यहोरा पनि अवगत गराउँदछौ।

.gif)



फेसबुक पेज Like गर्नुहोस