काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।