मिसाइल हमलाबाट जहाज दुर्घटना नभएको इरानको दाबी
एजेन्सी - इरानले बुधबार तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान इरानी मिसाइल (क्षेप्यास्त्र) बाट खसालिएको भन्ने अमेरिका, क्यानाडा र बेलायतको दाबीलाई खण्डन गरेको छ ।
इरानले बोइङ ७३७ विमान मिसाइल प्रहारबाट दुर्घटनाग्रस्त भएको भन्ने अमेरिकी, बेलायती तथा क्यानाडाली नेताहरुको भनाइलाई खण्डन गरेको हो । इरानले उक्त आरोपलाई ‘मनोवैज्ञानिक युद्ध’ समेत भनेको छ । इरानले दुर्घटनामा ज्यान गुमाएका यात्रुका मुलुकहरूले अनुसन्धानका लागि प्रतिनिधि पठाउन समेत भनेको छ ।
‘यी सबै समाचार इरानमाथिको मनोवैज्ञानिक युद्ध हो’, इरान सरकारका प्रवक्ता अली राबेइले भने, ‘दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुका मुलुक र बोइङलाई ब्ल्याक बक्स अनुसन्धान प्रक्रियामा सहभागी हुने गरी प्रतिनिधि पठाउन अनुरोध गर्दछौं ।’
त्यस्तै इरानी विदेशमन्त्रालयका प्रवक्ता अब्बास मोसाभीले क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहारका कारण जहाज दुर्घटनाग्रस्त भएकोबारे कुनै सूचना भए दिन अनुरोध गरेका छन् ।
बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले क्षेप्यास्त्रका कारण जहाज दुर्घटना भएको भन्ने समाचारबारे अनुसन्धान भइरहेको बताएका थिए । सोही आधारमा क्यानाडेली प्रधानमन्त्री ट्रुडोले विभिन्न स्रोतले क्षेप्यास्त्र हमलाबाट जहाज खसेको हुन सक्ने बताएका थिए । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत कसैको गल्ती गरेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।
ट्रुडो, जोनसन र ट्रम्पको दावीलगत्तै सामाजिक सञ्जालमा एउटा भिडियो पनि भाइरल भइरहेको छ । उक्त भिडियोमा विमानमा मिसाइल ठोकिएपछि विस्फोट भएको देख्न सकिन्छ ।
बुधबार युक्रेन इन्टरनेशनल विमान बोइङ्ग ७३७-८०० ले उडान भरेको ३ मिनेट पछि नै इमाम खोमेनी विमानस्थलबाट केही पर खसेको थियो । उक्त दुर्घटनामा परी १७६ मानिसको मृत्यू भएको थियो । मृतकमध्ये ६३ जना क्यानडेली नागरिक रहेका थिए भने ८२ इरानी, ११ युक्रेनी, १० स्वीडिश र जर्मन र बेलायतका ३/३ नागरिकको मृत्यू भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस