काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सी फेदीका स्थानीयहरूले सशस्त्र प्रहरीका डीएसपीमाथि आक्रमण गरेका छन् ।

सरकारले शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका सशस्त्र प्रहरीका डीएसपी देवराज राईमाथि स्थानीयले आक्रमण गरेका हुन् ।

आक्रमणमा डीएसपीसहित केही प्रहरी घाइते भएका छन् । प्रहरीले आक्रमणमा संलग्न चार जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ ।

जिल्ला सरक्षा समिति, काठमाडौंको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सब स्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले बोझेनीमा तामाकोसी तथा सुनकोसी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत् उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि सब स्टेसन निर्माण गर्न लागिरहेको छ ।

सब स्टेसन निर्माणका लागि आवश्यक पर्ने सब स्टेसनका लागि ५० जना जग्गाधनीहरूको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो ।

जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम सहमतिले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ ।