काठमाडौँ - मनसुन प्रणाली कोशी, बागमती र मधेश प्रदेशसहित देशका पाँचवटा प्रदेशमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ‘सोमबार मनसुन आगमन बुलेटिन’ जारी गरीमनसुन नेपालको पूर्वी र मध्य भूभागमा अगाडि बढेको जनाएको हो।

महाशाखाका अनुसार सोमबार (२२ जुन) सम्ममा मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभागमा फैलिसकेको छ। यसैगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानहरूमा मनसुन प्रवेश गरिसकेको छ।

यो वर्ष नेपालमा सरदर मिति भन्दा ६ दिन ढिलो गरी गत असार ५ गते (१९ जुन) कोशी प्रदेशबाट मनसुन भित्रिएको थियो। हाल मनसुनी प्रणाली केही कमजोर अवस्थामा रहेकाले देशका बाँकी पश्चिमी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन्।