काठमाडाैं - संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले संसद्को हिँउदे अधिवेशन नयाँ ढंगले चलाइने बताएका  छन्  ।

१४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको भन्दै संसद्को हिँउदे अधिवेशन नयाँ ढंगले चलाइने बताएका  हुन् ।

अहिले अलि परम्परागत, औपचारिक ढंगले चलिरहेको भन्दै सभामुख सापकोटाले नयाँ ढंगले संविधान कार्यान्वयन गर्ने बाटोमा अघि बढिने धारणा राखे । सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको उल्लेख गरे ।

उनले राज्यका प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेको र व्यवस्थापिकाबाट राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री चयन हुने भएकोले संसद्को महत्त्व अझ बढी हुने बताए । संसद्को आवश्यकता र महत्व कानुन निर्माण र सुशासन स्थापना गर्ने काममा धेरै रहने भएको उनले बताए ।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन र लक्ष्य हासिल गर्नेतर्फ संघीय संसदको भूमिका महत्वपूर्ण रहेको बताए । उनले ऐन निर्माणमा ध्यान केन्द्रीत रहेको भन्दै जिम्मेवारीपूर्ण अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै कानूनमन्त्री शिवमाया तुम्वाहाम्फेले ऐन कानून निर्माणमा संसदका कर्मचारीको भूमिका अपरिहार्य रहेको बताए । कार्यक्रमा संघीय संसदका कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।