काठमाडौं - राष्ट्र बैंकले कोरोना भाइरसबाट प्रभावित ऋणीलाई असारमा तिर्नुपर्ने ब्याजमा सहुलियत दिने भएको छ ।

राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत, भुक्तानी अवधि थप, सहज रूपमा चालु कर्जा प्रवाहको व्यवस्था, कर्जाको पुनर्तालिकीकरण, पुनःसंरचनालगायत विभिन्न राहत प्याकेज घोषणा गरेको हो ।संक्रमणकालीन अवस्थाका लागि भन्दै राष्ट्र बैंकले आधा दर्जन सुविधा घोषणा गरे पनि तिनको विधि तथा प्रक्रियाबारे खुलाइएको छैन ।

कोरोनाले पारेको क्षेत्रगत प्रभाव र आफ्नो नीतिगत सीमाभित्र रहेर के–कति ब्याज छुट दिन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।सोही अध्ययनको सुझावका आधारमा क्षेत्रगत रूपमा परेको प्रभावका आधारमा राहत सुविधा ल्याइने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले चैतसम्म भुक्तानी भएको कर्जामा पाकेको ब्याजको १० प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । लकडाउनका बेला भुक्तानी गर्नुपर्ने कर्जाको अवधि थप गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले यसअघि चैतसम्म भुक्तानी गर्नुपर्ने साँवाब्याज असारसम्म तिरे हुने व्यवस्था पनि गरिसकेको छ । साना तथा मझौला उद्योग, पर्यटन र कोरोना भाइरसको प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुने गरी राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि परिमार्जन गर्ने भएको छ ।यसले कोरोनाबाट धेरै प्रभावित क्षेत्रमा सहज ढंगले पुनर्कर्जा प्रवाह गर्न सकिने राष्ट्र बैंकको दाबी छ ।