शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो सरकारलाई ५ दिनको अल्टिमेटम
काठमाडौं - विद्यालय शिक्षा विधेयकमा आज पनि सहमति जुट्न सकेन । सांसदहरूले आजै विधेयक पारित गर्नुपर्ने अडान राखेपनि सम्भव हुन सकेन ।
विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई ५ दिनको समय दिएको छ ।
शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए । त्यसमा सांसदहरु सहमत भएनन् ।
तर, समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्रीलाई ५ दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।
सभापति थापाले भने–‘५ दिनभित्र सहमति गरेर आउनू । त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ ।’
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन् ।
शिक्षामन्त्री पन्तले भने जतिसक्दो चाडैँ समिति सभापतिलाई सहमति जुटेपछि बैठकको मिति जानकारी गराउने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस