अर्थमन्त्रीले करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो, संसदीय छानबिन हुनुपर्छ : नेकपा
काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद वर्षमान पुनले सो माग गरेका हुन्।
पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले ‘पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ’ भनी संसद्मा खुलेआम स्वीकार गरेकाले उनीमाथि छानबिन समिति गठन गर्नुपर्ने बताए।
उनले भने- 'सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो । उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ । यो आर्थिक अपराध हो । संसदीय छानबिन गरिनुपर्छ ।'
अर्थमन्त्रीले धाकधम्की दिएको र वित्तीय अपराध गरेको आरोप लगाउँदै पुनले थप भने- 'अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ ।'
बिहीबार आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले सांसदहरूप्रति आक्रोश पोख्दै ‘तपाईंहरुको काण्डबारे पनि अनभिज्ञ छैनन्, ती पनि खुल्नेछन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते ल्याएको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयले राजनीतिक वृत्तमा बहस उत्पन्न गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस