म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
काठमाडौं-म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी मर्नेहरुको संख्या १६ सयभन्दा बढी पुगेको छ। तर त्यहाँ सडक, पुल लगायतमा भएको भौतीक क्षति, सञ्चार अवरुद्ध साथै उपकरणहरुको अभावका कारण उद्दारमा कठिनाइ भइरहेको छ।
भूकम्पले पुरानो राजधानी तथा एतिहासिक दोस्रो ठूलो सहर मण्डलेलाई तहसनहस बनाएको छ। करिब १५ लाख जनसंख्या रहेको यो सहरमा सर्वाधिक ठूलो क्षति भएको जनाइएको छ। तर त्यहाँको सेनाको सत्ताले उद्दारलाई कम प्राथमिक्ता दिएको भन्दै आलोचना भएको छ। उसले अहिले पनि प्रजातन्त्र समर्थक विद्रोही माथि हवाइ आक्रमण जारी राखेको छ।
सन् २०२१ मा सत्तामा आएको म्यानमारको सैन्य सरकारले चार वर्षदेखिको गृहयुद्धका कारण विद्रोही समूहहरू र सैनिक शासनविरोधी प्रतिरोधी बलहरूसँगको संघर्षपछि देशको ठूलो भागमा नियन्त्रण गुमाइसकेको छ।
यद्यपि शुक्रबारदेखि उद्धार कार्य जारी रहेको छ र अन्तर्राष्ट्रिय सहायता देशमा प्रवेश गर्न थालेको छ, तर सबैभन्दा प्रभावित क्षेत्रमा अझै मद्दत पुगेको छैन। स्थानीय बासिन्दाहरू आफैं नांगो हातको सहयोगमा भग्नावशेष हटाएर बाँचेकाहरूको उद्दार गर्ने प्रयासमा देखिएका छन्।
सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएका भिडियोहरूमा दुई जना पुरुषले भग्नावशेष हटाएर दुई ठूला कङ्क्रिटका च्यापिएका एक युवतीलाई निकाल्ने प्रयास गरिरहेको देखिन्छ। स्थानीयहरूले भग्नावशेषभित्रबाट मानिसहरूले कराउँदै सहायता मागिरहेको बताएका छन्।
मण्डलेको १२ तल्ले अपार्टमेन्ट भत्किएको करिब ३० घण्टा पछि उद्धारकर्ताहरूले एक महिलालाई जीवितै उद्धार गर्न सफल भए। तर रेडक्रसका अनुसार सो भवनमा अझै ९० भन्दा बढी मानिस फसेका हुनसक्छन्।
नजिकैको एउटा टाउनशिपमा अधिकारीहरूले एउटा बाल विहार रहेको भवनको भग्नावशेषमुनि १२ जना साना बालबालिका र एक शिक्षकको शव फेला पारेका छन्। विद्धयालय भवनहरु र ठुला अपार्टमेन्टहरुमा हजारौं पुरिएको अनुमान गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस