हिमाली क्षेत्रको चुनावी तयारी बुझ्न मुस्ताङ पुगे प्रधानमन्त्री
काठमाडौं - मुस्ताङ पुगेर प्रधानमन्त्री सुशीला कार्कीले आसन्न चुनावको तयारीबारे जानकारी लिएकी छिन्। हिमाली क्षेत्रमा मौसमले चुनाव गर्न साथ नदिने चर्चा भइरहँदा प्रधानमन्त्री कार्की शुक्रबार बिहान त्यहाँ पुगेकी हुन्।
यस क्रममा उनले त्यहाँका सरकारी अधिकारीहरूसँग चुनावका लागि भइरहेको तयारीबारे जानकारी लिइन्। प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिइन्। जोमसोमस्थित इन्द्रबक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन्।
यसक्रममा प्रजिअ शर्माले प्रधानमन्त्रीलाई जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराएकी थिइन्।‘निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला’, प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै शर्माले भनिन्।
यस्तै प्रधानमन्त्री कार्कीले मुस्ताङका बासिन्दासँग समेत अन्तरक्रिया गरिन्। साथै उनले हिमाली बस्तीको अवलोकन गरिन्। यसअघि उनले बिहान मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेकी थिइन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस