काठमाडौं - गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्‍याउने घटनासम्बन्धी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

केहि दिनअघि मोरङको विराटनगरस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाइएको थियो ।

उक्त विषयमा काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासले घटनामा छानबिन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको थियो। 

त्यसपछि चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले उक्त घटनाको छानबिन तथा कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । 

सोही पत्र उपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल प्रहरीलाई घटनासम्बन्धी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।