नारायणकाजी श्रेष्ठलाई सूर्य थापाले भने: 'मुख्यमन्त्रीमाथि ढुंगा प्रहार हुँदा निदाउनु भएको थियो क्यारे'
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा भएको नाराबाजीलाई लिएर पार्टीमा विवाद बल्झिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा नेता पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर नेकपा नेताहरु दुई धारमा देखिएका छन् ।
शनिबार पूर्वी चितवनको राप्ती नगरपालिकामा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका थिए ।
त्यसलगत्तै पार्टी वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ध्यानाकर्षणका साथै छानबिन गनै माग गरेका थिए ।
तर, प्रवक्ता श्रेष्ठको ध्यानाकर्षणलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खण्डन गरेका छन्। श्रेष्ठले घटना सुनियोजित दुर्ब्यवहारको भएको भन्दै त्यो निन्दनीय एवं भर्त्सनायोग्य रहेको बताएका थिए ।
'आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क. सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ ।' उनले ट्विटरमा लेखेका थिए, 'यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस् ।'
त्यसको खण्डन गर्दै थापाले गुटगत अन्तर्दृष्टि भएको आरोप लगाएका छन् । उनले प्रवक्ता श्रेष्ठमाथि बुटवलमा प्रदेश राजधानीको विवादको क्रममा मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलमाथि ढुंगा प्रहार हुँदा नबोलेको भन्दै कटाक्ष गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, 'बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ - गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी !'
फेसबुक पेज Like गर्नुहोस