काठमाडौं - प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई धम्काएको आरोप लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो। 

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरका अनुसार व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको हो । 

कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर एसपी पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए । सो विषयमा अहिले २ नं। प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको छ।