काठमाडौं - लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ ।

प्रदेश सभाबाट बजेट पारित नहुने भएपछि गएराति संसद् अधिवेशन अन्त्य गरेको सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । शुक्रबार बिहान मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।  बैठकले अध्यादेश स्वीकृतका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेकोसमेत एक मन्त्रीले जानकारी दिए । 

प्रदेश सरकारले असार १ मा ल्याएको ४० अर्ब ९४ करोडको बजेट बिहीबार पारित गर्ने तयारी गरिएको थियो ।  लुम्बिनी प्रदेशसभामा सभामुखले बजेट पारितको प्रक्रियामा लैजान खोजेपछि सत्तापक्षले छलफलका लागि थप समय माग गरेको थियो ।

तर, विपक्षी दलहरुले प्रक्रियामा लैजान दबाब दिएपछि मुख्यमन्त्री शंकर पोखरेलसहित सबै मन्त्री बाहिरिएका थिए । सत्तापक्षले नै बहिस्कार गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा बैठक मध्यराति अन्त्य गरिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका थिए ।