काठमाडौैं -  इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेसँगै इरानले इराकमा रहेको अमेरिकाकाे सैनिकको बेसक्याम्पमा आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ । इरानले ब्यालेस्टिक मिसाइल प्रहार गर्दै अमेरिकी बेसक्याम्पमा आक्रमण गरेको हो ।

अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । त्यस्तै इरानले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमेरिकासँग जोडिएका मध्यपूर्वका तेल कम्पनी र तेल बोक्ने पानी जहाजमाथि समेत हलमा गर्न सक्ने संभावना प्रबल देखिन्छ ।

इरानी सेनाले हत्याको बदला हत्याको उपाय समेत अपनाउन सक्ने देखिन्छ । यस क्रममा इरानले आफ्ना अपरेटिभ्स (गुप्तचर र तालिमप्राप्त व्यक्ति) मार्फत् अमेरिकाका वरिष्ठ अधिकारीको हत्या गर्न सक्ने संभावना पनि उत्तिकै छ ।

साथै कुटनीतिमार्फत् विश्वका अन्य शक्तिराष्ट्रलाई दिएर अमेरिका विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक्ल्याउने उपाय समेत इरानसामु छ । र इरानप्रति नरम दृष्टिकोण राख्ने अमेरिकाका डमोक्र्याट, रिपब्लिकन र सैन्य अधिकारीलाई दबाब दिने र अमेरिकी राजनीतिमा ट्रम्पलाई निरीह बनाउने रणनीति पनि अपनाउन सक्छ ।