काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका नेताहरु प्रतिनिधि सभा विघटनपछि सत्ता लोभमा परेको बताएका छन् । सत्ता लोभमा परेका नेताहरुलाई ‘लड्डु कांग्रेस’को संज्ञा दिँदै नेता थापाले त्यस्ता नेताका कारण कांग्रेसमाथि प्रश्न उठेको बताए।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा थापाले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको बेला इतिहासले नेपाली कांग्रेस के गर्दैथ्यो भनेर प्रश्न गर्नेछ। त्यो बेलामा नेपाली कांग्रेसले भन्न पाउँछ, प्रधानमन्त्रीको कदमलाई असंवैधानिक हो भनेर ढक्क उभिएको थियो भनेर भन्न पाउँछ, तर हाम्रै केही साथीहरूले अलमल्याइदिनुभएको छ। ‘लड्डु कांग्रेस’हरु मैदानमा आउनुभएको छ। यो हातमा पनि लड्डु, त्यो हातमा पनि लड्डु। लड्डु कांग्रेसहरूको कारणले गर्दा आज कांग्रेसमाथि नै प्रश्न उठेको छ।’

केही कांग्रेसी नै अदालतका विषयमा बोल्न हुँदैन भनेर पन्छिने गरेको भन्दै उनले बीपी कोइरालाका कार्यकर्ताले त्यसो भन्न नसुहाउने बताए ।