सरकारसँगको सहमतिपछि काममा फर्कंदै चिकित्सक
काठमाडौं - सरकारसँगको सहमतिपछि चिकित्सकहरू काममा फर्कने भएका छन् । उपभोक्ता अदालतले उपचारमा चिकित्सकको लापरबाही भएको ठहरसहित चिकित्सक र अस्पताललाई क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएपछि उनीहरू आन्दोलनमा उत्रेका थिए ।
चिकित्सकहरूले आकस्मिकबाहेक अरू सबै सेवा ठप्प पारेपछि सर्वसाधारण बिचल्लीमा परेका थिए । स्वास्थ्य मन्त्रालयमा मंगलबार साँझ सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
सरकार र चिकित्सकबीच तीनबुँद्धे सहमति गरिएको छ । चिकित्सकको माग सम्बोधन गर्न विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ७ दिनभित्र सुझावसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको छ ।
कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख हुनेछन् भने सदस्यमा कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव स्तरका प्रतिनिधि तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव स्तरका प्रतिनिधि हुनेछन् ।
कार्यदलको प्रतिवेदन तीनै मन्त्री र नेपाल चिकित्सक संघलगायत सरोकारवाला पक्षसँग सम्मिलित वार्ता टोलीमा पेस गरी सोहीअनुसार कार्यान्वयन गर्ने, उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिनभित्र मन्त्रिपरिषद्बाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्ट ट्याकबाट कानुन संशोधनका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस