गाईघाट - उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ ।

सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

महिलालाई खुकुरी प्रहार गरेर जङ्गलतिर फरार भएका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिप्रकाले जनाएको छ ।