काठमाडौं - चीनमा रहस्यमयी भाइरस कोरोना भाइरसको कारण १७ जनाको मृत्यु भएको छ । अघिल्लो साता मात्र देखिएको यो भाइरसको प्रभाव बढ्दै गएको हो । यस्तै, ५०० जना भन्दा धेरै मानिस यस भाइरसबाट संक्रमित भएका छन्।

बुहान सहरबाट शुरु भएको यस भाइरसको प्रभाव बेइजिङ, मकाउ, ताइवान लगायत अन्य चिनियाँ शहरसम्म पुगेको छ। बुहानमा यसको असर अझै बढ्ने देखेर सार्वजनिक यातायात बन्द गरिएको छ।

चीनमा मात्र नभइ यस भाइरसको असर अन्य देशमा समेत देखिएको छ। अमेरिका,थाइल्यान्ड, दक्षिण कोरिया, अष्ट्रेलियामा समेत कोरोना भाइरसको प्रभाव देखिएको छ। बेलायती वैज्ञानिकहरुले भने यस भाइरसको असर एक हजार भन्दा धेरै व्यक्तिहरुलाई भएको हुनसक्ने दाबी गर्दै आएका छन्।

भाइरस फैलिँदै गएको अवस्थामा विश्वभर विमानस्थलहरुमा सावधानी अपनाउन शुरु भइसकेको छ। चिनियाँहरु अहिले नयाँ वर्षको विदामा धेरै संख्यामा चीनबाट अन्य देश घुम्न पुगिरहेकाले कोरोना भाइरस अन्य देशमा फैलिन सक्ने चेतावनी चिनियाँ अधिकारीहरुले नै दिइसकेका छन्। त्यसैले यस भाइरसको संक्रमण फैलिँदै गर्दा अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीन हुँदै आउने यात्रुहरुको स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ।