लकडाउनका कारण नेपालमा राेकिएका दुई हजार ३७० विदेशी नागरिक घर फर्किए
काठमाडौं - कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् ।
पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् ।
काठमाडौँमा जम्मा भएका विदेशीलाई उनीहरुकै मुलुकले जहाज चार्टर्ड गरी लगेका हुन् । अहिले एक हजार ३७८ विदेशी नागरिक बोर्डको सम्पर्कमा आएका छन् । अन्य विदेशी कहाँ कति सङ्ख्यामा छन् भन्ने कुनैपनि निकायसँग विवरण नभएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले आजसम्म दुई हजार ३७० विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको बताए ।
देशका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका एक हजार ७२१ जनालाई बोर्डले उद्धार गरी स्वदेश फर्कन सहजिकरण गरेको जानकारी दिए ।
विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् भन्ने अझै यकिन विवरण आइनसकेको बोर्डले जनाएको छ । अध्यागमन विभागको मार्च २१ सम्मको तथ्याङ्क हेर्दा दुई हजार ५०० विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये एक हजार २०० स्वदेश फर्केको रेकर्ड छ । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको छ ।
नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको बोर्डको अनुमान छ । अन्य विदेशी नागरिक कहाँ कुन अवस्थामा छन् अहिले नै भन्न नसकिने सरोकारवाला निकाय बताउँछन् । नेपालमा करिब १० हजार विदेशी नागरिकले प्रवेशाज्ञा (भीषा) थपेर बसेको बताइन्छ ।
कोभिड–१९ को जोखिम हुन नदिन सरकारले चैत ११ देखि २५ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा यहाँ रोकिएका विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको हो ।
फेसबुक पेज Like गर्नुहोस