काठमाडौं - त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ । तर, विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई ‘रेस्पोन्स’ गर्न आवश्यक ठानेको देखिँदैन ।

त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटकपटक उजुरी परे पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

विश्वविद्यालय अनुदान आयोगले सोधेको प्रश्नको जवाफ दिन त्रिभुवन विश्वविद्यालयले अटेर गर्दै आएको आयोगका सदस्यसचिव देवराज अधिकारी स्विकार्छन् । 

उनले भने, ‘क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा उजुरी परेपछि हामीले विश्वविद्यालयसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म जवाफ आएको छैन ।’

राजधानी दैनिकबाट