काठमाडौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकतालाई बचाउन सहमति देखिएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, वर्षमान पुन र जनार्दश शर्मा सहभागि थिए । 

छलफलमा नेताहरु पार्टी एकतालाई बचाउन सहमति देखिएको र दुबैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमत भएका छन् । तर, दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति पनि भएको छ ।

पछिल्लोपल्ट नेकपामा देखिएको विवाद फुटको संघारमा पुगेको छ । दुईजना अध्यक्षबीच देखिएको विवादका कारण स्थायी कमिटीको बैठकसमेत भोलिसम्मका लागि स्थगित भएको छ । नेकपाको जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवाद चर्केको हो ।